सर्वोच्च र ओलीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ?

सर्वोच्च र ओलीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्ति जनाएका छन् ।

माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएकोप्रति आपत्ति जनाउँदै प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्‍यायो ? महिलालाई बन्दुक कसले बोकायो ? कमाण्डर कसले बनायो ? नेतृ कसले बनायो ? कसरी लेख्न सकेको ? न्यायालयले के लेख्न खोजेको हो ?’

उनले ओलीलाई प्रश्न गर्दै देशको व्यवस्था परिवर्तनमा जनयुद्धले गरेको भूमिकाको चर्चा गरे ।

‘अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । संसददेखी न्यायालयसम्म, ब्युरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त ? ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ?,’ उनले भनेका छन्, ‘उसो भए, प्रकाश सपुतले लेखेको गीतको याद आउँछ, फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो ? रातो स्कुटर कसले किन्दियो ? हैन ? केपीजीलाई सोध्नुपर्ने भएको छ, तपाईँलाई ताज कसले बनाइदियो ? कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले बनाइदियो ? तपाईँ बसेको ठाउँ कसले बनायो ?’

उनले जनयुद्धको उपलब्धिलाई स्वीकार्न नसक्ने भए सबै ताज फुकालेर आफूहरुलाई हस्तान्तरण गर्न चुनौती दिए । उनले माओवादी सँग एकताको लागि ८ महिनाअघि प्रस्ताव गरेको भन्दै सुव्यवस्थित छलफल अहिलेकोप्रति असन्तुष्ट सुनिए । एकताबारे विस्तारै प्रक्रिया अघि बढ्ने देखेर समाजवादी मोर्चा बनाएर अघि बढेको बताए ।

त्यसैगरी उनले शान्ति प्रक्रियामा आएपछि माओवादी जताजतै पुगेको भन्दै फुट्नुमा पनि असाध्यै धेरै फुटेको बताए । उनले भने, ‘माओवादी साउनको भेल जस्तै भयो । कहाँ कहाँ पुग्यो । अस्ति एक साथीले डायरीमा टिप्नु भएछ, १९ वटा पुर्‍याउनु भएछ । मैले भने– एउटा थप्नुस् २० हुन्छ, २१ हुन्छ ।’