नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन शहरको संरचना भेटिएको दाबी गरिएको छ ।
पुरातत्त्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार वटा ठाउँमा गरेको उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्त्विक सामग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्नेगरी बुद्धकालीन शहरको संरचनासहित विभिन्न सामग्री पनि भेटिएका छन् । कोलीय गणराज्यको महत्त्वपूर्ण शहर मानिएको पण्डितपुरमा पुरातत्त्व विभागले गरेको उत्खननले महत्त्वपूर्ण प्रमाणसहितका संरचना भेटिएका हुन् ।
यसअघि भएको ‘जियोफिजिक्स सर्भे’ (भू–भौतिक अध्ययन) का क्रममा देखिएको बुद्धकालीन शहरको संरचना उत्खननका क्रममा फेला परेको छ । बौद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताए ।
यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना ईशापूर्व छैटौं शताब्दीका भएको पुष्टि भइसकेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसँग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्त्व विभागले जनाएको छ ।
सामान्य खनजोतका क्रममा पनि पुरातात्त्विक सामग्री भेटिने पण्डितपुर संवेदनशील पुरातात्त्विक क्षेत्रका रूपमा रहेको छ । केही सार्वजनिक र धेरै निजी स्वामित्वका जग्गा रहेको पण्डितपुरलाई संरक्षण गर्न भौतिक संरचना निर्माण तत्काल रोक्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
झन्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलिय गणराज्यको राजधानीका रूपमा दाबी गरिँदै आइएको छ ।
प्रतिक्रिया