काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग कांग्रेस र एमालेकै नेताहरु वाक्क हुन थालेको बताएका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री पुनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरुले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।
‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो, अब कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामीले रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं । यो हाम्रो प्रतिबद्धता हो ।’
पूर्वअर्थमन्त्री रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए ।
प्रतिक्रिया