अहिलेको सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला

अहिलेको सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला



जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले देश अराजकतातिर जान नदिन सबै गम्भीर हुनुपर्ने बताए ।

उनले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको उनले बताए ।

सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको उनले बताए । नेता कोइरालाले संविधानमा केही सुधारहरू गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबिच सक्रियतापूर्वक काम भइरहेको बताए । उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संशोधन गरिने बताए ।

नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए ।