बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा

बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा



बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको छ । यो अस्पतालबाट निसीखोला, तमानखोला र बडीगाड गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा प्रारम्भ गर्दै ५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताए ।

२०२१ सालमा दुई वटा कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । २०६४ सालमा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड रुपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण शुरू भएको थियो ।

गण्डकी प्रदेश सरकारकाे चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो ।