भारतसँगको चौथो टेस्टमा अस्ट्रेलियालाई ३ सय ३३ रनको अग्रता

भारतसँगको चौथो टेस्टमा अस्ट्रेलियालाई ३ सय ३३ रनको अग्रता



काठमाडौं । भारतसँगको चौथो टेस्ट क्रिकेटको चौथो दिनको खेल सकिँदा घरेलु टोली अस्ट्रेलियाले ३ सय ३३ रनको अग्रता लिएको छ । दोस्रो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाले चौथो दिनको खेल सकिँदा ९ विकेट गुमाएर २ सय २८ रन बनाएको छ ।

भारतीय बलरले खेलमा फर्किने प्रयास गरे पनि मार्नस लाबुशेन र कप्तान प्याट कमिन्स तथा नाथन लायन र स्कट बोल्यान्डबीचको अर्धशतकीय साझेदारीका कारण अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ । अस्ट्रेलियाले ९१ रनमा ६ विकेट गुमाएको अवस्थामा लाबुशेन र कमिन्सले ५७ रनको साझेदारी गरेका थिए । यस्तै लायन र बोल्यान्डले अन्तिम विकेटका लागि १ सय १० बलमा ५५ रनको साझेदारी गरिसकेका छन् । लायन ४१ रन र बोल्यान्ड १० रन बनाउँदै क्रिजमा छन् ।

एक समय अस्ट्रेलियाको अग्रता २ सय ५० रनभित्रै समेटिने देखिएको थियो । अग्रता बढ्दै जाँदा भारतको समस्या पनि बढिरहेको छ । दोस्रो पारीमा अस्ट्रेलियाका लाबुशेनले ७०, कमिन्सले ४१ रन बनाए । भारतका जसप्रित बुमराहले ४ मोहम्मद सिराजले ३ विकेट लिए ।

पहिलो पारीमा अस्ट्रेलियाले ४ सय ७४ रन बनाएको थियो । यस्तै भारतले पहिलो पारीमा ३ सय ६९ रन बनाउँदा अस्ट्रेलियाले १ सय ५ रनको अग्रता लिएको थियो ।

पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा १–१ को बराबरी छ । पहिलाे खेल भारतले र दाेस्राे खेल अस्ट्रेलियाले जितेकाे थियाे । तेस्राे खेल बराबरीमा सकिएकाे थियाे ।