नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बनमा

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बनमा



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बनमा परेसँगै उपमेयर सुशीला अधिकारी कार्यवाहक मेयर बनेकी छन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकारी स्वतः कार्यवाहक मेयर बनेकाे नगरपालिकाका प्रवक्ता महेश रिमालले बताए ।

कांग्रेसबाट निर्वाचित मेयर बस्नेत निलम्बनमा परेपछि नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागार्जुनमा मेयर र उपमेयर दुवैको यो दोस्रो कार्यकाल हो ।

मेयर मोहन बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका हुन् । मेयर बस्नेतमाथि २२ करोड रुपैयाँभन्दा धेरै बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।