काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशन आनन्दसँग समयमै गरिने बताएका छन् । उनले महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी नगर्न आग्रह गरे ।
पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने बताए ।
‘पार्टीका मञ्चहरूमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५ औं महाधिवेशनबारे कुरा गर्छौं, १५ औं महाधिवेशन हुन्छ, रूवाबासी नगरौं,’ थापाले भने, ‘प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ ।’
महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको भन्दै उनले भने, ‘को नेतृत्वमा आउने कुरा समयमा सोचौंला । अहिले २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन ।’
कांग्रेस नेपालको मुलशक्ति भएको पनि उनले बताए । ‘हाम्रो पार्टीभित्र बहस हुन्छ । अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा पार्टीबाट छाडेर पनि जानुपर्दैन,’ थापाले भने, ‘तर फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरामात्र गर्न हुन्न ।’
प्रतिक्रिया