मातृभूमि जागरण अभियान चलाउने भीम रावलकाे घाेषणा

मातृभूमि जागरण अभियान चलाउने भीम रावलकाे घाेषणा



काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।

“देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,” उनले भनेका छन् ।

देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

“राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अबलम्वन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ,” उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, “यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।”

पत्रकार सम्मेलनमा रावलले ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने उनको दाबी छ ।

‘अतः देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ,’ रावलले भने ।