एमालेबाट निलम्बनमा परेका भीम रावलले ओलीलाई सोधे ७४ प्रश्न

एमालेबाट निलम्बनमा परेका भीम रावलले ओलीलाई सोधे ७४ प्रश्न



काठमाडौं । पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी भएको बताएका छन् ।

रावलले पार्टीको आन्तरिक प्रक्रियाबारे प्रश्न उठाउँदै, कुनै पनि सदस्यलाई कारबाही अघि संवाद र छलफल गर्नुपर्ने राजनीतिक परिपाटीको उल्लंघन भएको बताएका छन् ।

साथै, उनले विगतका घटनालाई आधार बनाएर सोधिएको स्पष्टीकरणलाई हास्यास्पद रहेको बताएका छन् ।

‘पाँच दशक पार्टीको सेवा र जिम्मेवारी सम्हालेको व्यक्तिसँग छलफल नगरी गरिएको स्पष्टीकरणपूर्वको कारबाही प्रतिशोध र पूर्वाग्रहको उपज हो । तीन वर्षअघिका कुरा निकालेर गरिएको स्पष्टीकरण हास्यास्पद मात्र होइन, नियत खराब रहेको स्पष्ट हुन्छ,’ रावलले भनेका छन् ।

उनले पार्टी महासचिवका बक्तव्यलाई समेत कटाक्ष गर्दै, एआई प्रयोग गरी पार्टी अनुशासन सिकाएको आरोप लगाएका छन् ।

महासचिवको भ्रमित र विरोधाभासी अभिव्यक्तिले पार्टी नेतृत्वको चरित्रमाथि गम्भीर प्रश्न खडा भएको भन्दै रावलले ओलीलाई नै जवाफ दिन आग्रह गरेका छन् ।

यो विवादले एमालेभित्र गहिरो आन्तरिक समस्या रहेको संकेत गरेको छ । यस्तो परिस्थिति पार्टीको आगामी रणनीतिमा कसरी प्रभाव पार्छ भन्ने चासो सबैको लागि रहन्छ ।

रावलले बुधबार पत्रकार सम्मेलन गर्दै अब देशभक्तहरू समेटेर नयाँ पार्टी गठन गर्ने बताए । उनले उक्त पार्टी कम्युनिष्ट चरित्रको नहुने बताए ।