भीम रावलको आरोप प्रचण्डकै कपीपेस्ट : प्रदीप ज्ञवाली

भीम रावलको आरोप प्रचण्डकै कपीपेस्ट : प्रदीप ज्ञवाली

सरकारको काम पर्याप्त नभएको निष्कर्ष



काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको ७४ बुँदे आरोप २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका १९ पेजकै कपीपेस्ट भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि ज्ञवालीले रावलले बुधबार पत्रकार सम्मेलन गरेर दिएका अभिव्यक्ति सुनेर समाजले उनीभित्र कति नकारात्मकता रहेछ भनेर बुझेको प्रतिक्रिया दिए ।

‘२०७७ सालमा पुष्पकमल दाहाल प्रचण्डले लगभग यिनै भाषमा नेकपाका तत्कालीन अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो खालका टिप्पणी गर्नुभएको थियो। यस्तै खालको आरोप लगाउनुभएको थियो । लगभग १९ पेजको थियो। बुँदाहरू कति थिए, मैले बिर्सिएँ । एक किसिमले कपी पेस्ट जस्तै हो। नयाँ कुरा केही छैन। दोस्रो उहाँभित्र कतिधेरै नकारात्मकता भरिएको रहेछ । प्रष्ट भएको छ, समाज आफैं प्रष्ट भएको छ,’ उनले भने ।

उनले गालीगलौजले देश नबन्ने बताए। एक जमानामा बाबुराम भट्टराई र प्रचण्डहरूले पनि शब्दकोशमा भेट्टाएजत्ति शब्दले गाली गरेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि गालीबाटै उदाएको उनले बताए ।

‘गालीले देश बन्ने भए एक जमाना थियो, बाबुराम भट्टराई, प्रचण्डजीहरू शब्दकोशमा भएजत्ति शब्दहरू खोजीखोजी गाली गर्नुहुन्थ्यो । अर्को अवस्था आयो रवीजीहरू त्यसैगरी उदाउनुभयो । ३१ पृष्ठमा ३० पाना र एक प्यारा गालीगलौज, पौनो एक प्यारामा अभियान चलाउँछु भनेर भनिसकेपछि हामीले छलफल गरिरहनुपरेन । अपेक्षित हो । त्यही भएर पार्टी उहाँको सदस्यता नरहने निष्कर्षमा पुगेको हो,’ उनले भने ।

त्यसैगरी यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकका निम्ति अध्यक्षले तयार गरेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामाथि बिहीबार छलफल गरिएको थियो । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ । नेपाली कांग्रेस र एमालेबीचको सरकार गठनको औचित्य, आवश्यकताको विश्लेषण प्रतिवेदनमा गरिएको ज्ञवालीले बताए ।

बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । ‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’

यद्यपि सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गरेको निष्कर्ष एमालेले निकालेको छ । ‘सरकारले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर थुप्रै कामहरु गर्न बाँकी रहेको …,’ ज्ञवालीले भने, ‘ती बाँकी कामहरु छिटो सम्पन्न गर्न खासखरी डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा, अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विश्लेषण गरिएको छ ।’

राजनीतिक संयन्त्र अन्तर्गत कार्यदल बनाएर सरकारले गर्नुपर्ने कामको ९ वटा क्षेत्रहरुमा प्रष्ट भएको ज्ञवालीले बताए । ‘संविधान संशोधन, संघीयताको कार्यान्वयन, संसदमा विचाराधीन विधेकयहरु छिटो टुंग्याउने,’ ज्ञवालीले भने, ‘यी विषयहरुमा दुई दलका बीचमा विश्वासको बताावरण बनाएर स्थिरताको विश्वास दिलाउन सकेको छ ।’