गोरखाबाट नेपाली सेनाको टोलीले एकीकरण पदयात्रा थाल्यो

गोरखाबाट नेपाली सेनाको टोलीले एकीकरण पदयात्रा थाल्यो



गाेरखा । नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौं पदयात्रामा निस्किएको छ ।

गोरखाबाट शुरू भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंकाे हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो । एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुने प्रमुख क्षेत्रीले बताए ।

सेनाले गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा एकीकरण पदयात्राको थालनी गरेको हो । गोरखाबाट निस्किएको टोलीले आज धादिङको सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ । धादिङको टोलीले नुवाकोटको सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ । त्यस्तै नुवाकोटको सेनाको टोलीले गोरखाबाट लगिएको झण्डा र लाइट काठमाण्डाैको सेनाको टोलीलाई हस्तान्तरण गर्नेछ ।

पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेना पश्चिम पृतनापति एवम् उपरथी मधुकर सिंह कार्की, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकलगायतले एक कार्यक्रमकाबीच बिदाइ गरेका छन् ।