अमेरिकी विदेशमन्त्री ब्लिंकेनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने

अमेरिकी विदेशमन्त्री ब्लिंकेनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने



काठमाडौं । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्लिंकेनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक’ प्रबद्र्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री ब्लिंकेनले जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्नुहुनेछ ।’

विदेशमन्त्री ब्लिंकेनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली गठबन्धनलाई पुनः पुष्टि गर्न र हाम्रा साझा मूल्यमान्यतामा आधारित विश्वका चुनौतीहरूमा हाम्रा महत्वपूर्ण सहयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गर्न कोरियाली वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछन् । ‘संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका लागि जापानसँग त्रिपक्षीय प्रयासलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पनि विदेशमन्त्रीले छलफल गर्नुहुनेछ,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।

जापानमा विदेशमन्त्री ब्लिंकेनले जापान सरकारका वरिष्ठ अधिकारीसँग अमेरिका–जापान गठबन्धनले पछिल्ला केही वर्षमा हासिल गरेको प्रगतिको समीक्षा गर्नेछन् ।

यसैबीच, ब्लिंकेनले शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीसँग पनि कुराकानी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘विदेशमन्त्री ब्लिंकेन र उनका इजिप्टका समकक्षीले गाजामा बन्धकहरूको रिहाई, मानवीय सहायताको प्रवाह बढाउने र युद्धको अन्त्य गर्ने युद्धविरामका लागि जारी प्रयासको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् । उनीहरुले सिरियाको अवस्थाबारे पनि थप छलफल गरेका छन् ।’