माओवादी केन्द्रभित्र चरम व्यक्तिवादी अराजकता मौलायाे : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रभित्र चरम व्यक्तिवादी अराजकता मौलायाे : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । आइतबारदेखि सुरु भएको बैठकमा प्रतिवेदन पेस गर्दै प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको र यसबाट नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताए ।

‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चन्दा र कमिशनमा रमाउने नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन ।’

पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकोले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले आइतबार पार्टी महाधिवेशनको मिति तोकेर त्यहाँ विचार संश्लेषण गरेर जाने भनेका छन् । उनले माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने पनि बताए ।

उनले चन्दा र कमिसनमा रमाउने नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प नभएको बताए ।

अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताए ।

प्रचण्डले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा १/१ महिने अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन् ।

आजको बैठकबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी केन्द्रको उपाध्यक्षका हैसियत पाएका छन् ।

यसअघि पुन पदाधिकारी र स्थायी समिति बैठकमा सहभागी हुँदै आएका थिए । केन्द्रीय कमिटी बैठकमा उनी उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् ।

बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ बसेका छन् ।