काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एमाले र माओवादीले अर्कालाई पूरै अशुद्ध र आफूलाई चौबीस क्यारेटको शुद्ध ‘कम्युनिस्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउने दाबी पनि गरेका छन् ।
एकैदिन सुरु भएको नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठकप्रति कटाक्ष गर्दै उनले आइतबार साँझ सामाजिक सञ्जालमा यस्ताे लेखेका हुन् ।
उनले बैठक एकैदिन सुरु हुनु आकस्मिकता मात्र भए पनि दुई दलको विगत र प्रमुख नेताहरूको प्रवृत्ति हेर्दा बैठकमा जायज विषयहरूमाथि बहस नहुने टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुर्सीमै बसेर स्वर्गारोहण गर्ने हो भनेर प्रश्न गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईकाे टिपप्णी
- नेपालको विशिष्ठ भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक-सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक शासनप्रणाली आदिको सन्दर्भमा हिजो पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा ‘कम्युनिष्ट’ ब्राण्ड स्थापित र पपुलर भएको हो। अब २१ औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य,नीति,कार्यक्रम,संगठन,नेतृत्व,शैलीबाट पूरा गर्न सम्भव छैन। वेलैमा आफुलाई आमूल रूपान्तरण नगरे पुरानै ‘कम्युनिष्ट’ ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। ( चीन लगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।)
- अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नव-उदारवादी पुँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरता वीच चरम आर्थिक-सामाजिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हातहतियारको विभीषिक, ए.आइ. को संशय आदिले संसारले नयाँ उत्तर-पुँजीवादी विकल्प खोजेको प्रष्टै छ। नेपाल भने भर्खरै पुँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर-पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणाली वीच तालमेल मिलाएर हिंड्नुपर्ने अत्यन्त चुनौतिपूर्ण अवस्थामा छ।
- विश्वमा र नेपालमा चलिरहेको वैकल्पिक राजनीतिको विमर्शको चुरो कुरा यही हो। हाम्रो संविधानमा उल्लिखित ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद’ भन्ने पदावलीको आशय पनि हाम्रा विचारमा त्यही हो। यसवारे सबै दलका बैठक,भेला, सम्मेलन, अधिवेशनमा र सार्वजनिक मन्चहरूमा वहस होस्।
प्रतिक्रिया