काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रमा सुधार आएको बताएका छन् ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्दै प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ राजनीतिक कोर्सको आवश्यकता, औचित्य र अवसर, गठबन्धनपछिका ६ महिनाका सन्दर्भमा समिक्षा गरिएको छ । समिक्षामा मुलुकको अर्थतन्त्रमा सुधार आएको निस्कर्ष निकालिएको छ ।
उनले बैठकमा यस अवधिमा अस्थिरता, अराजकता र प्रायोजित निराशाको प्रयास, बदलिँदो विश्व परिवेश, नेपालको परराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचन एवम् निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयमा छलफल भएको जानकारी दिए ।
उनले अध्यक्ष ओलीको प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश दिइएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको तथा अर्थतन्त्रमा सुधार आएको विषय उल्लेख छ ।
प्रतिक्रिया