काठमाडौं । जय ट्रफी एलिट कप दुईदिवसीय प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब आलमले एकै इनिङग्समा आठ विकेट लिएका छन् ।
शाहबले नेपाल पुलिस क्लबविरूद्ध सोमबार आठ विकेट पूरा गरेका हुन् । शाहबले १५.१ ओभरमा २ मेडन राख्दा ५९ रन खर्चिए । उनी जय ट्रफीको एकै इनिङग्समा आठ विकेट लिने पहिलो बलर बने । अघिल्लो दिन आर्मीविरूद्ध पुलिसका स्पिनर ललितनारायण राजवंशीले सात विकेट लिएका थिए ।
शाहबको आठ विकेटसँगै नेपाल पुलिस पहिलो इनिङग्समा १२५ रनमै अलआउट भएको छ । पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन जोडे ।
त्यसअघि आइतबार वीरगञ्जमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीलाई नेपाल पुलिस क्लबले पहिलो इनिङ्ग्समा १२१ रनमै अलआउट गरेको थियो ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन जोडे भने भीम सार्कीले २२ रन जोड्न सके ।
बलिङमा पुलिसका ललितनारायण राजवंशीले ७ विकेट लिन सफल भए । उनले १४.४ ओभरमा ४ मेडन राख्दा ४७ रन दिए ।
पहिलो इनिङग्समा ४ रनले पछि परेको आर्मीले अहिले दोस्रो इनिङग्स ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया