शुक्लाफाँटामा नेपालको जमिन भारतले उपभोग गर्याे : रघुजी पन्त

शुक्लाफाँटामा नेपालको जमिन भारतले उपभोग गर्याे : रघुजी पन्त



काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिरहेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिरहेको विषयमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका हुन् ।

‘कञ्चनपुरको शुक्लाफाँटामा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मा ल्याउन पहल भइरहेको छ कि छैन ? यसमा गृहमन्त्रीको ध्यानाकर्षण होस्,’ उनले भने, ‘हाम्रो भूमि हाम्रो स्वामित्वमा आओस् । हाम्रो भूमिको रक्षा सरकारले गरोस् ।’

त्यसपछि जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानकर्षण भएको बताए ।

उनले भने, ‘कञ्चनपुरमा भारतीय नागरिकले भोगचलन गरेकोमा सरकारको ध्यानाकर्षण भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार जानकार छ । जिल्लामा रहेका सुरक्षा निकाय, राष्ट्रिय निकुञ्ज लगायतबाट जानकारी प्राप्त भएको छ । यसका बारेमा छलफल पनि गरेका छौँ । भारतीय नागरिकले हाम्रो भूभागमा खेतीपाती गरेका छन् ।’

गृहमन्त्री लेखकले सीमाको बिवाद नरहेको तर, एउटा पिल्लर राख्नुपर्ने अवस्था आएको र त्यसका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराए ।

उनले भने, ‘सीमाको त्यति बिवाद छैन । यसमा एउटा पिल्लर राख्नुपर्ने रहेछ । दुबै देशको सहमतिमा राख्नुपर्ने भएकाले दुबै देशका बीचमा छलफल भइरहेको छ । सहमति गरेर नै राख्ने संयन्त्रको पनि ध्यानाकर्षण गराइएको छ । आफ्नो भूमिको सीमानाको रक्षा गर्नका लागि सरकार कटिबद्ध छ, यस किसिमले मित्र राष्ट्र भारतका नागरिकले भोगचलन गर्ने विषयमा कूटनीटिक पहलबाट समाधान गर्छौं, यसमा सरकार गम्भीर छ ।’