भीषण हिउँदे आँधीका कारण अमेरिकाका ७ वटा राज्यमा संकटकाल घोषणा

भीषण हिउँदे आँधीका कारण अमेरिकाका ७ वटा राज्यमा संकटकाल घोषणा



काठमाडौं । भीषण हिउँदे आँधीका कारण अमेरिकाका सात वटा राज्यले संकटकाल घोषणा गरेका छन् । कान्सस, मिजोरी, केन्टुकी, भर्जिनिया, वेस्ट भर्जिनिया र अर्कान्सस राज्यसँगै न्युजर्सीका कतिपय ठाउँमा पनि संकटकाल घोषणा भएको बीबीसीले जनाएको छ ।

अमेरिकाको मौसम विभागले ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरेको छ । धेरै ठाउँमा ठूलो हिमपात हुनुका साथै चिसो निकै बढाएको बीबीसीले जनाएको छ । ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अनुमान छ । सबैभन्दा धेरै कान्सस र मिजोरी राज्य प्रभावित भएका छन् ।

मौसमविद्हरूले ‘पोलर भोर्टेक्स’ का कारण चरम मौसमी अवस्था उत्पन्न भएको जनाएका छन् । आर्कटिकमा फैलिने चिसो हावा भएको क्षेत्रलाई ‘पोलर भोर्टेक्स’ भनिन्छ । सँधैजसो मौसम राम्रो हुने फ्लोरिडा राज्यमा पनि अत्यधिक चिसो हुने मौसमविद्हरूको अनुमान छ ।

न्युयोर्क राज्यका उत्तरी क्षेत्रमा तीन फिटभन्दा बाक्लो हिउँ परिसकेको छ । आँधी प्रभावित क्षेत्रमा हजारौं उडान रद्द भएका छन् । धेरैजसो सडकहरू अवरुद्ध रहेका बीबीसीले जनाएको छ । कैयौं रेलसेवा पनि स्थगित भएका छन् ।

संकटकाल घोषणा गरेका सात वटा राज्यसँगै अरू राज्यका प्रभावित क्षेत्रमा समेत विद्यालयहरू बन्द गरिएका छन् । मौसमविद्हरूले अमेरिकामा यस वर्षको जनवरी महिना सन् २०११ यताकै चिसो हुने जनाएका छन् ।

आँधी प्रभावित क्षेत्रमा एक हप्तासम्म चिसो लम्बिने मौसम विभागले जनाएको छ । अमेरिकाकी उत्तरी छिमेकी क्यानडाको धेरैजसो क्षेत्रमा मौसमसम्बन्धी चेतावनी जारी भएको छ । क्यानडाको मानिटोबा राज्यमा आँधीका कारण तापक्रम घटेर माइनस ४० डिग्री सेल्सियस पुग्नसक्ने अनुमान छ ।