काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।
मंगलबार ललितपुरमा भएको ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू’ अन्तर्क्रियामा बोल्दै महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए ।
‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा । जसले यो शासकीय जिम्मेवारी लिन्छौं। हामी कोही पनि संघीयताप्रति उदार छैनौं, एकदमै अनुदार छौं । हामी यसलाई यसैबाट अघि बढाउँछौं भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौं । जसले बाहिर जे-जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन,’ उनले भने ।
उनले संघीय निजामती विधेयक, संघीय प्रहरी विधेयक पारित नहुने भए सरकारबाट बाहिरिन्छु भनेर कसैले भनेको नसुनेको पनि बताए ।
‘सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्ने नै हुन्छौं। सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो । संघीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरू रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौं । तर हामी प्रदेशलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि योभित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौं अब । यसलाई प्रभावकारी बनाउने भएनौं । रिजल्ट ओरियन्टेट बनाउने भएनौँ । यसबाट परिणाम नआउने भयो,’ उनले भने ।
प्रतिक्रिया