काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले भने, ‘अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन । २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं ।’
ओलीले पार्टीमा गुट नभएको दाबी गरेका छन् । उनले आफ्ना विषयवस्तु पार्टीका बैठकमा राख्न आग्रह पनि गरेका छन् । सडकबाट जनमत बनाउने कुरा गलत भएको ओलीको भनाइ छ ।
“विचारधारात्मक, संगठनात्मक गुट पार्टीमा छैन । विचार, सिद्धान्त, बाटो, नीतिमा हाम्रो कुनै मतभिन्नता छैन । आफ्ना विषयवस्तु राख्न मन छ भने पार्टीका बैठकमा राख्नुस् । यहाँ राख्न खुलस्त हुनुहुन्छ, सुनिन्छ । तर, पार्टीका विषय सडकमा राखेर जनमत बनाउँछु भन्ने कुरा ठिक भएन,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।
बैठकले आफ्ना निम्ति स्वार्थ समूह बनाएर केही लागे पनि पार्टीमा गुट नभएको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया