काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । अस्ति आइतबारदेखि शुरू भएको बैठक आज सकिएको हाे ।
आजको बैठकमा नेता जनार्दन शर्माले बोल्नका लागि विशेष समय पाएका थिए । उनले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेका छन् । अध्यक्षको एकलौटीतर्फ सङ्केत गर्दै शर्माले नेतृत्वको आलोचना पनि गरे ।
यस्तै समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठक एकताको र श्रमिकका निम्ति विजयको बैठक बनेको दाबी गरे । उनले अब माओवादीका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिने, विकृतिमा नलाग्ने र पार्टीलाई नागरिक माझ पुनः लोकप्रिय बनाउन लाग्ने बताए ।
प्रचण्डले बैठकमा पेस गरेको प्रतिवेदन एमालेका नेता तथा कार्यकर्ताहरूलाई शिक्षा हुने दाबी गरेका छन् । पार्टीभित्र भएको जनवादको अभ्यास वा जुन स्कुलिङ भएको छ, त्यसले एमालेभित्रका इमानदार नेता तथा कार्यकर्ताका लागि शिक्षा हुने दाबी गरेका हुन् ।
प्रचण्डले भने,‘पार्टीभित्र जुन स्कुलिङ भएको छ । एमालेभित्रका इमानदार नेता तथा कार्यकर्ताहरूलाई यसले राम्रो सन्देश दिन्छ । र, वाम ध्रुवीकरणका लागि वैचारिक, राजनीति र संस्कार निर्माण गर्न बल पुग्ने मेरो विश्वास छ ।’
उनले आफू सरकारमा हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उभिएको तर एमाले लगायत त्यसको विरुद्ध उभिएको आरोप लगाएका छन् ।
प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई व्यक्तिगत चाहनाले नै पार्टीमा सक्रिय भएको प्रष्टीकरण दिएका छन् । उनले पुन पार्टीले राजनीतिमा सक्रिय गराएको नभई सकृय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी गराए ।
अन्य नेताहरूको कार्यविभाजन गर्दा पुनलाई पनि जिम्मेवारी दिइने उनले बताए । पुनको सक्रियताको विषयलाई लिएर बैठकमा विभिन्न टिकाटिप्पणी भएको थियो । पुनलाई उपाध्यक्षको जिम्मेवारी दिने माओवादीको तयारी छ । उनी बैठकमा पनि उपाध्यक्षकै भूमिकामा आसिन थिए ।
यस्तै केन्द्रीय समितिकाे बैठकले पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
प्रतिक्रिया