ताप्लेजुङ । सामान्य वर्षा सँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझ देखि हिमपात भएको छ । ३ हजार ७ सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिर सहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो ।
पाथीभरा मन्दिर जाने पदमार्ग अन्तर्गत फेदीको बस्ती सहित सो भन्दा माथि हिमपात भइरहेको फेदी स्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।
यसपटक लामो समय पछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागे पछि लामो समय सम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन शुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।
केही दिनयता चिसो बढे सँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।
प्रतिक्रिया