काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सडकबाट दवाव नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् ।
बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको जानकारि गराउँदै शान्ति प्रक्रियाका कामहरु टुंग्याउने विषयलाई कतिपयले व्यापारकाे रुपमा लिएको बताए ।
अध्यक्ष प्रचण्डले भने, “पीडितहरुले पटकपटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, किनकी अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ । तर यहाँ विषय कानुनीभन्दा पनि राजनीतिक नै छ । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्ताबेज हुन् ।”
उनले माओवादीलाई तह लगाउने अन्तिम अस्त्र यही बाँकी भएकाले नटुंग्याउन जोड दिइएको बताए । ‘एउटा प्रवृत्ति यो विजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ,’ अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष दाहालले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छिट्टै टुंग्याउन आग्रह गर्दै छलफल गर्ने पनि बताए । “अब रोक्न भएन, छिट्टै गर्नुपर्यो भनेर जाँदै छु,” उनले भने ।
प्रतिक्रिया