काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै एकताका नाममा बार्गेनिङ नचल्ने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियू निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो नीति र नेतृत्व स्वीकार गरेर आउँछन् भने ठिक छ,तर बार्गेनिङ चल्दैन ।’
अध्यक्ष ओलीले समाजवाद नामका पसल चल्न नदिने पनि बताएका छन् । उनले भने, ‘समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद भनेर हिँडेका छन् । समाजवाद नामका पसल खोल्न खोजेका छन् मान्छेहरुले । हामीले त्यो पसल चल्न दिनु हुँदैन । अनावश्यक भाउ दिनु पनि हुँदैन,किनकी सुका पर्ने भाउलाई एक रुपैया किन दिने ? हामी अब आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । एमालेमा मर्ज गर्न आए हुन्छ तर एकताका नाममा बार्गेनिङ चल्दैन । नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बन्दरबाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे स्थायी कमिटी सदस्य हुँ भन्छ एउटा भुरो । त्यो सँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भन्ने कुरा गर्दैन ।’
अध्यक्ष ओलीले प्रजातन्त्रको नाममा, जनवादको नाममा मनपरी बोल्ने र अराजकता मच्चाउने छुट पार्टी तथा जनसंगठनहरुमा नदिइने प्रष्ट पारे ।
ओलीले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर सरकार चलाइरहेको बताए । उनले एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेकोसमेत बताए ।
‘एमालेलाई मार्छौं, सिध्याउँछौं भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन्। त्यस्तो गरेर कराए । यो चुनावपछि टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे। एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर ! भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने। के भनेनन्। केपी ओली, को केपी ओली, कोको, को केपी ओली ? यति बिर्सिने भइसके क्या । यस्तै बिर्सिएको राम्रो ! मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस् । केही छैन, अब को केपी ओली भन्नेकुरा म बताउन्नँ । मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो । इमान्दारिताका साथ काम गर्छ । तर झिँगाले सरापेर डिँगा मर्ने भए ! झिँगाले सराप्दा डिँगा मर्दैन भन्ने भनाइ छ,’ उनले भने ।
युवा शक्ति एमालेसँग छ की छैन भनेर फागुन १५ को स्ववियू निर्वाचनबाट अनेरास्ववियुले देखाउनुपर्ने बताए ।
प्रतिक्रिया