काठमाडौं । मधेसमा जारी जय ट्रफी पुरुष इलाइट कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
बिहीबार धनुषाको जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन बागमतीले २८.४ ओभरमा पाँच विकेट गुमाएर ८० रन बनाउँदा अम्पायरले खेल अन्त्य भएको घोषणा गरेसँगै यी दुई टिमबीचको प्रतिस्पर्धा ‘ड्र’ मा सकिएको हो ।
यसअघि पहिलो इनिङमा आर्मीले २७६ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा बागमतीले पनि नौ विकेट गुमाएर २०० रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो ।
दोस्रो इनिङमा आर्मीले आठ विकेट गुमाएर १२७ रन बनाउँदा २०३ रनको अग्रता बनाएको थियो । तर, दोस्रो इनिङमा ब्याटिङका निम्ति आएको वाग्मतीले दिनको निर्धारित ६० ओभर खेल्न नपाउँदा खेल बराबरीमा सकिएको हो ।
खेलको पहिलो इनिङमा आर्मीका बसिर अहमेदले ५३ रन बनाएका थिए । दोस्रो इनिङमा आर्मीका मयनले अर्धशतक बनाए ।
बागमतीबाट भने ब्याटिङतर्फ दुवै इनिङमा कुनै पनि ब्याटर अर्धशतकसम्म पुग्न सकेनन् ।
दुवै टिमको यो दोस्रो बराबरी हो । यसअघि आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग ‘ड्र’ खेलेको थियो । यता, बागमतीले भने पहिलो खेलमा मधेश प्रदेशसँग बराबरी खेलेको थियो ।
प्रतिक्रिया