रविलाई रिहा नगरी काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी

रविलाई रिहा नगरी काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी



काठमाडौं । जिल्ला अदालत कास्कीले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तत्काल रिहा नहुने भएका छन् । कास्की प्रहरीले उनलाई काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी गरेकाे छ ।

सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ । धरौटीमा छाड्न आदेश दिएपछि अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाइरहेका छन् ।

कार्यावाहक सभापति डिपी अर्याल, सोभिता गौतम, कार्यावाहक प्रवक्ता मनिष झा, हरि ढकाललगायतका नेता अदालत बाहिर छन् । अहिले नेता कार्यकर्ताले रवि लामिछानेको समर्थनमा नारावाजी गरिरहेका छन् ।

रविविरुद्ध दायर भएको सूर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दामा धरौटीमा रिहा भए पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा केही आदेश आउन बाँकी छ ।

रविविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने प्रहरी स्रोतले जनाएको छ ।

रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएकाे छ । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी उनलाई रिहा गर्न नसकिने प्रहरी स्रोतले बताएकाे छ ।