काठमाडौं । आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् ।
समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ ।
बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै यू-१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाली टोली
पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।
प्रतिक्रिया