काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउने भएका छन् । उनी पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउँदै गरेको रास्वपाका एक नेताले जानकारी दिए ।
सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना छ । लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पूर्व गृहमन्त्री लामिछाने ८४ दिन प्रहरी हिरासतमा रहेर बिहीबार मात्रै धरौटीमा रिहा भएका हुन् ।
उनलाई ६५ लाख धरौटी रकममा रिहा गर्ने आदेश कास्की जिल्ला अदालतले दिएको हाे । लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया