काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगलागीमा परी ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । आगलागीमा परी ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको र ज्यान गुमाउनेहरूको पहिचान गर्न कैयौं हप्ता लाग्न सक्ने लस एन्जलसका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अहिले लस एन्जलस क्षेत्रमा पाँच ठाउँमा आगलागी भइरहेको छ । पेलिसेड्स, एटन, केनेथ, हस्र्ट र लिडिया क्षेत्रमा आगलागी भइरहेको छ । लस एन्जलस प्रहरीले शहरको वुडल्यान्ड हिल्स क्षेत्रमा आगो लगाउने प्रयास गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । तर स्थानीय अग्निनियन्त्रकले जंगलमा आगो जानाजानी शुरू भएको प्रमाण नभेटेको बताएका छन् ।
आगलागीका कारण झन्डै १० हजार संरचना ध्वस्त भएको छ । अहिलेसम्म एक लाख ८० हजार जनालाई स्थानान्तरण गरिएको र दुई लाख जनाभन्दा धेरै मानिस जोखिममा रहेका बीबीसीको खबरमा उल्लेख छ ।
आगलागीबाट ३४ हजार एकड क्षेत्रफल ध्वस्त भएको छ । लस एन्जलसको इतिहासमा यो सबैभन्दा विनाशकारी जंगलको आगलागी भएको अधिकारीहरूले बताएका छन् ।
सुक्खा मरुभूमिको हावाले आगोलाई थप बल पुर्याइरहेको छ । निकै तीव्र गतिको हावाले आगोलाई अझ फैलाउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।
यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आउँदा ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च सङ्घीय सरकारले बेहोर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया