काठमाडौं । ग्रीनल्यान्डका नेताहरूले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नाे देश किन्न गरेको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।
डेनमार्कको स्वशासित क्षेत्रका रूपमा रहेको ग्रीनल्यान्ड देश आफ्ना लागि निकै महत्त्वपूर्ण भएको भन्दै डोनाल्ड ट्रम्पले किन्ने प्रस्ताव गर्दै आएका छन् । तर डेनमार्क र ग्रीनल्यान्डका नेताहरूले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै आफ्नो देशको सार्वभौमसत्ताको ख्याल गरिदिन आग्रह गरेका छन् ।
ग्रीनल्यान्डलाई बरु आत्मनिर्णयको थप अधिकार चाहिएको तर अमेरिकाले किन्ने कुरा सह्य नहुने उनीहरूको चेतावनी छ । ग्रीनल्यान्डको संसद्का सबै पाँच वटा दलले ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै देशलाई रणनीतिक उद्देश्यका लागि अमेरिकी नियन्त्रणमा हस्तान्तरण गर्न नसकिने बताएका छन् । विपक्षी दल नालेराक पार्टीका नेता पेले ब्रोबर्गले ग्रीनल्यान्ड किनबेच गर्नका लागि कुनै वस्तु नभएको उल्लेख गर्दै यस्ता कुरा नदोहोर्याउन भनेका छन् ।
अत्यावश्यक र महँगा खनिजले भरिपूर्ण ग्रीनल्यान्ड २१ लाख ६६ हजार वर्ग किलोमिटर ठूलो छ । त्यहाँ झन्डै ६० हजार जनसङ्ख्या रहेको छ । अमेरिकाका लागि रुस र चीनविरुद्ध निगरानी गर्न र व्यापार सहजताका लागि ग्रीनल्यान्ड निकै सहज भूमि बन्न सक्ने ट्रम्पको भनाइ छ ।
सन् १९५३ सम्म ग्रीनल्यान्ड डेनमार्कको उपनिवेश रहेकोमा बिस्तारै स्वशासन प्राप्त गर्दै आइरहेको छ । अहिले ग्रीनल्यान्ड केही विषयमा स्वतन्त्र छ भने विदेश र रक्षा नीतिमा डेनमार्कको नियन्त्रण रहेको छ ।
प्रतिक्रिया