म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गरेका छन् । बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गरेका हुन् ।
जिल्लाको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाउने विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आउनुभएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई तोरण टाँगेर झिलिमिली बनाइएको छ । महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिएको छ ।
प्रतिक्रिया