काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गलत बाटोमा हिँड्न खोजेको टिप्पणी गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद सुचारु नगरेर अध्यादेश ल्याएको भन्दै विरोध जनाए ।
उनले कांग्रेस र एमाले दुई ठूला दल मिलेपछि अब लोकतन्त्र के हुन्छ ? भनेर चिन्ता लागिरहेको बताए । उनले भने, ‘अहिले फेरि पनि अध्यादेश आएको छ । संसद बोलाएर चल्नुपर्ने बेलामा अध्यादेश ल्याउनुपर्ने जरुरत थिएन । पटक्कै थिएन । अहिले आएको अध्यादेश यस्तो जरुरी पनि होइन कि सरकारको कामै रोक्ने पनि होइन । हामीले संसदीय प्रणालीमा अघि बढेरहेका छौं । तर, काम चाहिँ निरंकुशतातिर अघि बढेको छ कि भन्ने डर भइरहेको छ । त्यो अध्यादेश ल्याएर कांग्रेसलाई अप्ठ्यारो पारिदिने, किनभने हामी त लोकतान्त्रिक पार्टी हौं नि !’
उनले प्रधानमन्त्री ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु हास्यापद भएको टिप्पणी गरे । उनले भने, ‘हामीले संविधान संशोधनसहितको ७ बुँदा भनेका छौं तर प्रधानमन्त्रीजीले ०८७ सम्ममा संविधान संशोधन गर्न सक्दैनौं भनेर बोलिदिनुभयो । आफ्नै पार्टीभित्र, ०८४ मा चुनाव हुँदैछ, उहाँले ०८७ को कुरा बोल्दिनुभयो । यो हास्यापद हो । चुनावपछि के हुन्छ कसरी जान्छ भन्ने कुरा हो । संविधान कांग्रेस र एमालेले मात्रै होइन, माओवादी, मधेशवादी दल सबैको सुझाव लिएर संशोधन गर्नुपर्छ यो कांग्रेस र एमालेको डकुमेन्ट होइन । त्यसैले हामी गलत तरिकाले अगाडि बढ्न खोजिरहेका छौं ।’
उनले प्रधानमन्त्री र ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध लागेको भन्दै आलोचना गरे ।
प्रतिक्रिया