काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर १ बलमा १ सय रनमा अलआउट भयो । नेपालकी सिमाना केसीले २३ तथा कप्तान पूजा महतो र किरण कुँवरले समान १८ रन बनाए । वेस्ट इन्डिजकी तृषा हार्दत, आलियाह वीकिस र आमियाह गिल्बर्टले २/२ विकेट लिए ।
यसअघि मलेसियामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनायो । वेस्ट इन्डिजकी समरा रमनाथले २५, असबी कलेन्डेरले २३ रन बनाए । नेपालकी रचना चौधरी र सिमाना केसीले १/१ विकेट लिए ।
नेपाली टाेलीले दाेस्राे अभ्यास खेलमा पर्सि माघ २ गते अमेरिकासँग खेल्नेछ । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो माघ ५ देखि माघ २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।
नेपालले पहिलो खेलमा माघ ५ गते बंगलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।
प्रतिक्रिया