विपिनको रिहाइमा पहल गरिदिन कतारी मन्त्रीसँग परराष्ट्रमन्त्रीकाे आग्रह

विपिनको रिहाइमा पहल गरिदिन कतारी मन्त्रीसँग परराष्ट्रमन्त्रीकाे आग्रह



काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन् ।

परराष्ट्र मन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्तामा कुराकानी गर्दै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्री राणाको सचिवालयले जानकारी दिएको छ ।

कतारका विदेश राज्यमन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार तथा मध्यस्थकर्ता हुन् ।

मन्त्री राणाले कतारका मन्त्री खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा कतारका मन्त्री खुलाइफीले हमासलाई इसराइलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराएका थिए ।

मन्त्री खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।