कांग्रेसबाट मन्त्री भएकाहरुलाई सभापति देउवाले बाेलाए बुढानीलकण्ठ

कांग्रेसबाट मन्त्री भएकाहरुलाई सभापति देउवाले बाेलाए बुढानीलकण्ठ



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बाेलाएका छन् । सभापति देउवाले बिहीबार विहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमा मन्त्रीहरुलाई बाेलाएका हुन् ।

बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरु पनि उपस्थित हुनेछन् ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने कांग्रेसले निर्णय गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो । दोस्रो बैठक बिहीबारका लागि बोलाइएको छ । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री छन् ।

कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।