सार्वजनिक जग्गा कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

सार्वजनिक जग्गा कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यो अध्यादेश सार्वजनिक जग्गा कार्यकर्तालाई दिनका लागि ल्याइएको आरोप लगाएका हुन् ।

बालेनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्वीर साझा गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सामाजिक सञ्जाल फसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् ।

मन्त्रिपरिषद्ले यसअघि एकसाथ पाँचवटा अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

तर राष्ट्रपति पौडेलले सोमबार चारवटा मात्र अध्यादेश जारी गरी भूमिसम्बन्धी अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए ।