एमाले-कांग्रेसको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक

एमाले-कांग्रेसको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीचकाे सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’

साथै, उनले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी गराए । गृहमन्त्री लेखकले भने, ‘सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा के के काम भइरहेको छ भन्नेबारे ब्रिफिङ गरिरहनुभएको छ । मन्त्रीजीहरूसमेत उपस्थित भएर छलफल भएको छ । अत्यन्त राम्रो र सौहार्दपूर्ण ढंगले छलफल भएको छ ।’

सबै मन्त्रीहरूबाट एमालेसँग भएको ७ बुँदे समझदारी अनुसार अघि बढ्न केन्द्रीत हुनुपर्ने भनाइ आएको जानकारी दिँदै उनले भने,‘सबै माननीय मन्त्रीज्यूहज्ञबाट आएको कुरा भनेको ७ बुँदे समझदारी अनुसार यो समीकरणलाई अघि लिएर जाने कुरामै हामी केन्द्रीत हुने हो । दोस्रो सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रोसँग प्रवाह गर्ने, आर्थिक सुशासन कायम गर्न केन्द्रीत भएर काम गर्ने कुरा भएको छ ।’