ललितपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि बढिसक्यो : प्रमुख महर्जन

ललितपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि बढिसक्यो : प्रमुख महर्जन



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् ।

बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए । उनले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताए ।

ललितपुर महानगरभित्र खुला ठाउँ नभएका कारण केही समस्या भइरहेको उनको भनाइ छ । प्रमुख महर्जनले स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाउँ रहेको बताए ।

उनले पहिले नै नेपाल आर्मीलगायतले खालि ठाउँ लगिसकेका कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताए ।

उनले भने, ‘अहिले हामी ललितपुर महानगरलाई स्माट सिटी बनाउने योजनामा छौं । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तिमा पनि १० प्रतिशत ठुला ठाउँको आवश्यकता छ । हामीसँग तीन प्रतिशत मात्र खुला ठाउँ छ । खुला ठाउँ नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन । मैले प्रमुख भएपछि कसैपनि माइकालाललाई एक आना जमिन पनि नदिने नीति लिएको छु । पहिले नै सबै लिसक्यो अहिले मसँग तीन प्रतिशत मात्र जग्गा बाँकी छ । म यो चाहीँ घटाउन चाहन्न ।’