चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको बताएका छन् ।
चितवनको माडीकोस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्ने बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रको भावना विपरीत काम गरिरहेको आरोपसमेत लगाएका छन् । सरकारले गरेकाे अलोकतान्त्रिक कदमको भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएकाे पनि उनले जानकारी दिए ।
उनले भने, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ त्यसकारण हामी आम जनतालाई सर्तक रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ । अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ । त्यसैले हामीले आ–आफ्नो ठाउँबाट आवाज उठाउँनुपर्छ ।’
उनले सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित काम भइरहेको दाबी गरे ।
प्रतिक्रिया