अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता



अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछाममा शुरू हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्प पीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम शुरू भएको जानकारी दिए ।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच हिजो सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ खर्च हुने र यो रकम पालिकाबाट भुक्तान हुने जनाइएको छ ।

भूकम्पबाट पूर्णरूपमा क्षति भएका घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ, आंशिक क्षतिको हकमा एक लाख र सामान्य क्षति भएकालाई ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ ।

विं.सं. २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण त्यहाँका १० पालिकाका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए ।