काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको आधारमा वर्तमान सरकारले राजीनामा दिनु उचित हुने बताएका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा ६ दलले संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री आफैंले संविधान संशोधन ०८७ मा मात्रै हुन्छ भनिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको बताए ।
‘संविधान संशोधन त प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’
विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्न पनि सक्ने बताए ।
संविधान विपरीत सत्तामा टिकिराख्न र विपक्षीलाई फुटाउन अध्यादेशमार्फत पटकपटक सरकारले प्रयास गरेको विपक्षी दलहरूले आरोप लगाएको छ ।
विपक्षी दलहरूले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । आफूहरूको आवाज नसुने विशेष अधिवेशन माग गर्ने चेतावनी विपक्षी दलहरूको छ ।
माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी र आम जनता पार्टीलगायत विपक्षी दलहरूले संसदको विशेष अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया