पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको फराकिलो जित

पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको फराकिलो जित



काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानले १२७ रनको जित निकालेको छ । पाकिस्तानको मुल्तानमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १२३ रनमै समेटियो ।

वेस्ट इन्डिजका एलिक एथानाजेले सर्वाधिक ५५ रन बनाए । यसबाहेक, अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहन सकेन । ताभिन इमलाचले १४, माइकली लुइसले १३, कप्तान क्रेग ब्रेथवेटले १२ र केभिन सिन्क्लायरले १० रन थपे ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका साजिद खानले पाँच विकेट लिए । १५ ओभर बलिङ गरेका उनले तीन मेडन खर्चिदै ५० रन खर्चिए । अर्बार अहमेदले चार विकेट लिए । ११.३ ओभर बलिङ गरेका अहमेदले दुई मेडन फ्याक्दै २७ रन खर्चिए । यस्तै, नोमन अलीले एक विकेट हात पारे ।

त्यसअघि पाकिस्तानले पहिलो इनिङमा २३० रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिज पहिलो इनिङमा पनि १३७ रनमा समेटिएको थियो ।

दोस्रो इनिङमा पाकिस्तानले १५७ रन बनाएपछि वेस्ट इन्डिजले २५१ रनको लक्ष्य पाएको हो ।

जितसँगै दुई खेलको टेस्ट शृंखलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो खेल जनवरी २५ देखि सुरु हुनेछ ।