अमेरिका–मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा

अमेरिका–मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गरेका हुन् । उनले सबै गैरकानूनी प्रवेश बन्द गरेर लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ ।

ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताएका छन् । उनले जन्मसिद्ध नागरिकताको परिभाषालाई सम्बोधन गर्ने आदेशदेखि अमेरिका–मेक्सिको सीमामा कडाइ गर्ने आफ्नो प्रतिबद्धतामा यो कदम चालेका हुन् ।

ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा आप्रवासीलाई समात्ने र छोड्ने नीतिको अन्त्य गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालको पहिलो चरणमा पूर्व राष्ट्रपति जो बाइडेन शासनकालका झण्डै ८० वटा कार्यकारी आदेशलाई रद्द गरेका छन् ।

यस्तै ट्रम्पले यूएस क्यापिटल प्रकरणमा सजाय भोगिरहेका एक हजार पाँच सय बन्दीलाई माफी दिएका छन् । उनले अब राष्ट्रिय मेलमिलापको प्रक्रिया शुरु हुने बताएका छन् ।