सरकार तीन वर्ष टिक्ने भएपछि विपक्षीलाई छटपटी हुन थालेको छ : प्रदीप ज्ञवली

सरकार तीन वर्ष टिक्ने भएपछि विपक्षीलाई छटपटी हुन थालेको छ : प्रदीप ज्ञवली



लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने बताएका छन् । गठबन्धन मजबुत बन्दै गएपछि विपक्षीलाई छटपटी हुन थालेको उनले बताए ।

नेकपा (एमाले) लमजुङले मंगलबारदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे ।

“सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको छ । घरी राजावादीलाई भेट्ने, घरी रविलाई किन कारबाही गरेको भन्ने, कहिले मोर्चा बनाउँछु भन्ने, यी सबै कार्य सत्ता विमुख भएपछिको छट्पटी हो ”, उनले भने । मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए ।

सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए । “यही सरकारलाई मजबुत बनाएर अघि बढ्दै नेकपा एमालेलाई एक नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्यमा हामी छौं”, उनले भने ।

मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो । उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्रले गति लिन थालेको बताए । “सुशासन र प्रभावकारी सेवाका लागि कानुन बनेका छन् । सहकारी पीडितले राहत पाउन थालेका छन् । अधिकार सम्पन्न सहकारी प्राधिकरण बनेको छ”, उनले भने, “यधपी अझै सरकारको कामलाई गति दिन आबस्यक छ ।”