६४ मा जस्तै बहुमत दिनोस् भ्रष्टाचारीको जरो किलो उखेल्नेछौं : प्रचण्ड

६४ मा जस्तै बहुमत दिनोस् भ्रष्टाचारीको जरो किलो उखेल्नेछौं : प्रचण्ड



बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ मा २०६४ मा जस्तै माओवादीलाई बहुमतले जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने बताएका छन् । बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई विजयी गराउन अपिल गरे ।

‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौं । कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो । अब त्यो गल्ती गरिनेछैन । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन’, उनले भने ।

आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको बताउँदै उनले पछिल्लाे समय एमालेबाट माओवादी प्रवेश गर्नेहरुको बढ्दै गएको दाबी गरे ।

कार्यक्रममा केपी ओली नेतृत्वको गठबन्धन सरकार अवैध भएकाले सरकारमा बसिरहन नहुने बताएका छन् । ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको उनले आरोप लगाए ।

उनले सरकारले अध्यादेशबाट शासन चलाउने कुचेष्टा गरेको भन्दै १८ गतेबाट हुने सदनमा सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने बताए ।