वर्षको पाँच लाख मानिसलाई नेपालमा रोजगारी दिनुपर्छ : गगन थापा

वर्षको पाँच लाख मानिसलाई नेपालमा रोजगारी दिनुपर्छ : गगन थापा



नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्षको पाँच लाख मानिसलाई रोजगारी दिनुपर्ने अवस्था रहेको बताएका छन् ।

नवलपरासीको प्रतापपूर २ स्थित आदर्श क्याम्पसमा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले चाहेर पनि पाँच लाख मानिसलाई रोजगारी दिन नसक्ने बताए ।

महामन्त्री थापाले भने, ‘वर्षको करिब पाँच लाख मानिसलाई नेपालमा रोजगारी दिनुपर्छ । कोही प्रधानमन्त्री भयो र यो वर्ष सबैलाई रोजगारी दिन्छु भन्यो भने पाँच लाख रोजगारी सिर्जना हुनुपर्छ। प्रधानमन्त्रीले कहाँ रोजगारी सिर्जना गर्न सक्छ- सेना, प्रहरी, अस्पताल लगायतमा गरेर करिब २० हजार नाघ्दैन । चार लाख ८० हजार बाँकी रहन्छन्, उनीहरूलाई कसले काम दिन्छ ?’

सरकारलेभन्दा पनि निजी क्षेत्रले काम दिन सक्ने उनले बताए । ‘काम कहिल्यै पनि सरकारले दिन सक्दैन । निजी क्षेत्रले दिन्छ, संसारभर यही हो,’ उनले भने, ‘सरकारले रोजगारी दिन्छु भन्यो भने नपत्याउनु, कसैले पनि दिन सक्दैन । सरकारले केबल वातावरण बनाउन सक्छ ।’

क्षमताका आधारमा निजी क्षेत्रले काम दिन सक्ने पनि उनले बताए । बजारको मागअनुसार विद्यार्थीलाई शिक्षा दिन सकेमा उनीहरूले रोजगारी पाउने पनि थापाले बताए ।

उनले नेपालमा रोजगारीको मुद्दा सबैभन्दा ठूलो भएको पनि बताएका छन् ।