अध्यादेशले व्यवसायीलाई लगानी गर्न सहज हुनेछ : मुख्यमन्त्री पाण्डे

अध्यादेशले व्यवसायीलाई लगानी गर्न सहज हुनेछ : मुख्यमन्त्री पाण्डे



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले हालै जारी अध्यादेशबाट निजी क्षेत्रका उद्योग व्यवसायलाई लगानी गर्नका लागि सहज वातावरण हुने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले अध्यादेश कानुन निर्माणमा हुने ढिलाइले गर्दा ल्याउनुपरेको स्पष्ट पारे । उनले भने, ‘संघ सरकारले अध्यादेश ल्याएर सहज गरायो भने गण्डकी प्रदेश सरकारले पनि निजी क्षेत्रलाई आकर्षित गर्नका लागि आवश्यक कानुन निर्माण गर्न वा संशोधन गर्न तयार छ ।’

मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रको सहभागिता विना मुलुकको आर्थिक विकास नहुने र रोजगारीको सम्भावना पनि नहुने भएकाले गण्डकी सरकार निजी क्षेत्रमैत्री भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।