काठमाडौं । पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा आज पनि सकिएन । बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका छन् ।
शुक्रबार बिहान ११ बजेदेखि न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएकाे थियाे । आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए ।
प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा र अर्का एक वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए ।
बिहीबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेल, उपन्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, उपन्यायाधिवक्ता प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरेका थिए ।
प्रतिक्रिया