पार्टी कमजोर बनाउन साइबर हमला गरिँदैछ, प्रतिवाद गर्नू : एमाले

पार्टी कमजोर बनाउन साइबर हमला गरिँदैछ, प्रतिवाद गर्नू : एमाले



काठमाडौं । नेकपा (एमाले) ले पार्टी र नेतृत्वका विरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताएको छ ।

एमालेले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै सामाजिक सञ्जालका माध्यमबाट पार्टीलाई कमजोर बनाउने उद्देश्यका साथ साइबर हमला निरन्तर जारी राखिएको उल्लेख गरेको हो ।

‘पार्टीले प्रचारको कामलाई व्यवस्थित गर्ने योजना बनाएको भए पनि उद्देश्यअनुरूप काम अघि बढ्न सकेको छैन । अब सिंगो पार्टी पंक्तिले सामाजिक सञ्जालका माध्यमबाट पार्टी र पार्टी नेतृत्वका विरुद्धमा फैलाइएका मिथ्या र भ्रमपूर्ण प्रचारको दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ,’ एमालेले जारी गरेको निर्देशनमा भनिएको छ, ‘पार्टीका नीति, कार्यक्रम र योजनाको प्रभावकारी ढंगले सामाजिक सञ्जालका माध्यमबाट समेत सम्प्रेषण गर्नुपर्दछ । त्यसका लागि पालिका तहसम्म नै प्रचार डेस्क तयार गरी काम अघि बढाउनु पर्छ ।’

यतिबेला आमरूपमा पार्टीको संगठनात्मक काममा तीव्रता आएको एमालेको ठहर छ । पार्टीका बैठक र पार्टी कमिटीबाट आयोजना गरिएका कार्यक्रमहरूमा सहभागिता उल्लेख्य रहेको उसले बताएको छ ।